सोलुखुम्बु । ओखलढुंगाको खिजीदेम्बा गाँउपालिका अध्यक्ष गम्बु शेर्पाले आफु विरुद्ध अदालतमा रिट झुटो रहेको दाबी गर्नुभएको छ । भुपेन्द्र बहादुर बस्नेतले आफु विरुद्ध नागरिकताको विषयलाई लिएर हालेको रिट सत्य नभएको दाबी गर्नुभयो ।
अध्यक्ष शेर्पाले सोलु एफ एमसँग कुरा गर्दै आफुले खिजीदेम्बा गाउँपालिकाको विकास कार्यमा सक्रिय देखेपछि विपक्षीले रिट दर्ता गरेको आरोप लगाउनुभयो । वहाँले खिजीदेम्बा आफनो जन्मभुमि भएकाले जन्मभुमिका लागि ज्यान त्याग्न समेत आफु तयार भएको बताउँदै कसैले मुद्धा हाल्दैमा आफु कमजोर नहुने जिकिर गर्नुभयो ।
अध्यक्ष शेर्पाले आफुमाथि परेको मुद्धाको विषयमा ध्यानाकर्षण गराउँदै निर्वाचनताका सबै प्रक्रिया पुरा गरेर मात्र उमेद्धारी दर्ता गरि चुनाव जितेको स्पष्ट पार्नुभयो ।
भुपेन्द्र बस्नेतले रिट मार्फत शेर्पा नेपाली नागरिक नभई अमेरिकी नागरिक रहेको र निजले झुटा विवरण पेश गरेकाले निजको निर्वाचन बदर गरि आफुले दोस्रो मत प्राप्त गरेकाले आफुलाई निर्वाचित घोषणा गरि पदस्थापना गरिपाँउ भनि रिट दायर गर्नुभएको जनाइएको छ ।
बस्नेतले रिटमा खिजीदेम्बा गाँउपालिकाका अध्यक्ष गम्बु शेर्पा, निर्वाचन आयोग, जिल्ला निर्वाचन अधिकृत ओखलढुंगा, जिल्ला प्रशासन कार्यालय ओखलढुंगा, इलाका प्रशासन कार्यालय खिजीफलाटे र अध्यागमन विभागलाई बिपक्षी बनाइएको उल्लेख छ ।
नेपालको संविधानको धारा २१५(५)को(क) र २२२ (६)को(क)एवं स्थानिय तह निर्वाचन ऐन २०७३ को दफा १२ र १३ समेतका आधारमा नेपाली नागरिक नभई कुनै पनि व्यक्ति स्थानिय तहको अध्यक्ष उपाध्यक्ष, वडाअध्यक्ष र सदस्य पदमा निर्वाचित हुन योग्य हुदैनन भनि मुद्धाको बिवरणमा लेखिएको छ ।
स्थानिय तहको निर्वाचन २०७९ मा खिजीदेम्बा गाँउपालिकाको अध्यक्ष पदमा भुपेन्द्र बहादुर बस्नेतलाई १३० मतले पछि पार्दै गम्बु शेर्पा बिजयी हुनु भएको थियो ।